सप्तरी : जिल्ला प्रहरी कार्यालय सप्तरीले एक अभियुक्तलाई ५६ वर्षपछि पक्राउ गरेको छ।
डाँका र जालसाज मुद्दामा फरार रहेका महादेवा गाउँपालिका–१ पकरीका श्रीलाल यादवलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
सप्तरी जिल्ला अदालतमा पेश गरिएका यादवलाई आइतबारै कैद भुक्तानको लागि राजविराज कारागारमा थुनामा पठाइएको सप्तरी प्रहरीले जनाएको छ। जिल्ला अदालतले उनलाई जालसाजी कसुरमा २०२१ जेठ १९ गते छ महिना कैद र डाँका कसुरमा २०२३ भदौ ३ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो।
अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार सूचीमा रहेका अभियुक्तलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियानका क्रममा यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। स्थानीय सुरैतलाल यादवको जाहेरीले कैद सजाय ठहर भए पनि फरार रहेका यादवलाई प्रहरी चौकी पकरीबाट गएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो।
प्रतिक्रिया