चितवनः जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको निधन भएको छ। बिहीबार निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको निधन भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै निधन भएको बताए।
चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको निधन भइसकेको अधिकारीले जानकारी दिए। वन्यजन्तुमध्ये हात्तीको आक्रमणबाट तीन जनाकाे निधन भइसकेकाे छ। हात्तीको आक्रमणबाट मृत्यु हुनेमध्ये दुई जनालाई जङ्गली हात्ती र एक जनालाई घरपालुवा हात्तीले आक्रमण गरेको अधिकारीले बताए।
वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका अन्य घटनामध्ये बाघको आक्रणबाट तीन, गैँडाको आक्रमणबाट तीन तथा गौरीगाई र बँदेलको आक्रमणबाट एक/एक जना रहेका छन्। सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाकाे अवधिमा अनावश्यक जङ्गल क्षेत्रमा प्रवेश नगर्नसमेत निकुञ्जले अपिल गरेको छ।
प्रतिक्रिया