तनहुँः जिल्लाकाे ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुई जनाको निधन भएको छ। ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग१८प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुवै जनाको निधन भएको हो।
निधन हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए।
मृतक सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए। पवित्रा भने महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका थिइन्।
कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि दुवैजना दमौली फर्किने क्रममा दुर्घटना भएकाे हाे। ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया