लेटेस्ट न्युज
advertisement1

गृहमन्त्रीको ठाडो आदेशमा दुई दिनमै यसरी हटाईए एसएसपी थापा

Maryada News 2021-02-16 15:46:27
गृहमन्त्रीको ठाडो आदेशमा दुई दिनमै यसरी हटाईए एसएसपी थापा

काठमाडौं–नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्ने महानगरीय अपराध महाशाखा प्रमुखको सरुवा सरकारकै निर्देशनमा भएको बुझिएको छ। 

झाँक्री पक्राउको दुई दिन पछि नै प्रधानमन्त्री केपी शर्मा ओलीकाे आदेश र गृहमन्त्री रामबहादुर थापाकाे ठाडाे निर्देशनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापालाई भर्ना छनौट महाशाखा हेडक्वाटरमा काज सरुवा गरिएकाे हाे। उनको ठाँउमा अर्का एसएसपी चन्द्रकुँवेर खापुङलाई ल्याइएको छ।

थापाकाे सरूवालाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ। प्रचण्डनिकट नेताहरू एसएसपी थापाको सरुवा राजनीतिक टकरावको कारण भएकाे बताउँछन्। प्रहरी प्रधान कार्यालयले भने एसएसपी थापाको हठात् सरुवालाई नियमित प्रकृया भनेको छ।  

किन भयो झाँक्रीको रिहा गर्ने प्रहरी अधिकारीको सरुवा ?

झाँक्री पक्राउ परे लगत्तै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच के गर्ने भन्नेबारे छलफल जारी थियाे। झाँक्री पक्राउकाे चाैतर्फी विराेध र प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल जारी रहेकाे बेला उच्च प्रहरी अधिकारीकाे परामर्श बमाेजिम एसएसपी थापाले ६ घण्टा बित्न नपाउँदै रिहा गरेका थिए।

उच्च स्राेतका अनुसार प्रधानमन्त्री ओली नेतृ झाँक्रीलाई ‘राज्य विरुद्ध कसुर अन्तर्गत दफा ५८’ लगाएर सडाउन चाहन्थे। प्रधानमन्त्री र गृहमन्त्रीकाे निर्देशन नआउँदै झाँक्रीलाई रिहा गरेपछि रुष्ट भएका प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई ठाडाे निर्देशन दिँदै एसएसपी थापाकाे सरुवा गराएकाे स्राेतले बताएकाे छ।

संसद विघटनपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहलाई तह लगाउने प्रधानमन्त्री ओलीको योजना थियो। जसको पहिलो शिकार रामकुमारी भइन्।

झाँक्रीलाई ‘राज्य विरुद्ध कसुर अन्तर्गत दफा ५८’ लगाएर पक्राउ गरिएको थियो। त्यसबाट सरकारले एउटा स्पष्ट सन्देश दिन खोजेको थियो कि ‘राज्यसंयन्त्रको विरोध गर्नेलाई छाडिने छैन।’

‘रामकुमारीलाई जुन दफाअनुसार पक्राउ गरिएको थियो, त्यो भनेको झाँक्रीलाई जेलमै सडाउने योजना थियो, तर जुन ढङ्गले तरंग फैलियो, त्यसपछि सरकारमाथि चाैतर्फी दबाब भयाे र रिहा गर्न बाध्य भयो’ स्रोतले भन्यो, ‘जसकारण झाँक्रीलाई जेलमै गलाउने र नेकपाको अर्को समूहलाई दबाबमा राख्ने ओली योजनाको पहिलो गासँमै ढुङ्गा लागेको छ।’

को हुन् एसएसपी थापा?

एसएसपी थापा पुष्पकमल दाहाल(प्रचण्ड) निकट मानिन्छन्। उनी प्रचण्डपुत्री रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरको लागि चुनाव लड्दा चितवनका प्रहरी प्रमुख थिए।

त्यतिबेला रेणुलाई मेयरमा जिताउन तत्कालिन प्रहरी प्रशासनदेखि सबै राज्य संयन्त्रको साथ रहेको सर्वत्र चर्चा छ।

त्यसैकारण पनि एसएसपी थापा 'प्रचण्डको मान्छे हुन्' भन्ने परेर थापाको सरुवा भएको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। 

एसएसपी थापालाई प्रचण्ड निकट मानिएकाले हठात् हटाइएकाे हाे कि रामकुमारी झाँक्री प्रकरणमा प्रधानमन्त्री ओलीकाे इच्छाविपरित ६ घण्टामै रिहा गरेका कारण हटाइएकाे हाे प्रहरी वृत्तमा मात्र नभएर राजनीतिक बजारमा समेत चर्चाकाे विषय बनेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

57.14%

दुःखी

14.29%

अचम्मित

0%

उत्साहित

28.57%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्