लेटेस्ट न्युज
advertisement1

सडकमा गणतन्त्र भर्सेस राजतन्त्र, सम्भावित मुठभेड रोक्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन

Maryada News 2025-03-28 09:53:08
सडकमा गणतन्त्र भर्सेस राजतन्त्र, सम्भावित मुठभेड रोक्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाण्डू, देशमा आज (शुक्रबार) गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ ।

गणतन्त्र र राजतन्त्र पक्षधर दुवैले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् ।

भृकुटीमण्डपमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा राजसंस्था पक्षधरले प्रदर्शन गर्दैछन् ।

समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् ।

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेका हुन् ।

बिहीबार मात्रै समितिका संयोजक सुवेदीले प्रसाईंलाई आन्दोलनको कमान्डर तथा स्वागत नेपाललाई प्रवक्ता तोकेका थिए । दुवै पक्षले आज सडकमा विशाल जनसागर उतार्ने दाबी गरिरहेका छन् ।

समितिका संयोजक सुवेदी बिहीबार राजसंस्था पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले निर्णायक आन्दोलन थालिएको बताएका थिए ।

आफ्ना माग पूरा नभए अझ कडा आन्दोलन गर्ने उनको चेतावनी थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लगायत राजसंस्था पक्षधर समूह पनि गत फागुन २५ गतेदेखि आन्दोलनरत थिए । अहिले भने आन्दोलनको कमान्ड दुर्गा प्रसाईंमा गएको छ ।

यसैगरी समाजवादी मोर्चाले पनि आज भृकुटीमण्डपमा गणतन्त्र बनाउन हुने प्रदर्शनमा हजारौंको सङ्ख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ ।

यसलाई माओवादी केन्द्रको युवा सङ्गठन वाईसीएलले पनि सघाउने जनाएको छ ।

यसैबीच समाजवादी मोर्चाले तय गरेको प्रदर्शनको जारी माध्यमिक शिक्षा परीक्षा ९एसईई० लाई मध्यनजर गर्दै समय हेरफेर गरिएको छ ।

कार्यक्रम व्यवस्थापन सचिवालय सूचना जारी गर्दै यस्तो जनाएको हो ।

एसईई परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालले मोर्चाले शुक्रबार भृकुटीमण्डपमा हुने प्रदर्शनलाई १२ बजे सारिएको एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य लक्ष्मण केसीले जानकारी दिए ।

यसर्थ सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा तीन हजार ५०० प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।

काठमाडौं परिसरमै कमान्ड सेन्टर बनाएर प्रहरी खटाइने व्यवस्था मिलाइएको छ । कमान्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसमेत उपस्थित हुनेछन् ।

सुरक्षाकर्मीले पूर्वराजाका समर्थकलाई रिङरोडमै जुलुस रोक्ने रणनीति लिएको छ । समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ ‘डाइभर्ट’ गरिने प्रहरीको भनाइ छ ।

सुरक्षा कमान्डर अधिकारीले शान्ति सुरक्षामा प्रहरी नचुक्ने बताएका छन् । “सकभर मुठभेड हुन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन,” एसएसपी अधिकारीले भने ।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिपुरेश्वरबाट प्रदर्शनीमार्ग पुग्नेछन् ।

सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्