काठमाडौँ : सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ । स्थानीय गठबन्धन दल र नेकपा एमाले कार्यकर्ताबीच झडप हुने संकेत देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्दै बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म कमलामाई नगरपालिकाको स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाङ्खोला पुल, हस्पिटल रोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको बिषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो ।
कार्यक्रममा सहभागी हुन पोखरेल मंगलबार नै सिन्धुलीगढी पुगेका छन् । तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएको छन्।
गठबन्धन दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए ।
जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिस तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधित क्षेत्रमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै किसिमका सभा, समारोह तथा जुलुस गर्न नपाइने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया