काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् ।
आईतबार सिंहदरवारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए ।
‘नेपाली जनताको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भिर छौं । र जनताको जीवन रक्षाका लागि महिला दिदीबहिनीहरुको रक्षाका लागि राज्य र सरकार गम्भीर छ ।’
उनले भने, ‘यी भएका घटनाहरुको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अव कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुन बमोजिम नै कारबाही हुन्छ ।’
प्रतिक्रिया