काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरवारमा जारी छ । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका र समावेशी प्रतिनिधित्वका विषयमा छलफल भइरहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले हिमाली जिल्लामा दशैंअघि जिल्ला अधिवेशन गर्ने र बाँकीमा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । उनका अनुसार बैठकमा समावेशी प्रतिनिधित्वको विषयमा पनि छलफल भइरहेको छ ।
महाधिवेशनमा दलित, मुस्लिम, मधेशी, अल्पसंख्यकहरुको प्रतिनिधित्वका विषयमा कांग्रेसभित्र असन्तुष्टि छ । कांग्रेसमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा महाधिवेशन प्रक्रिया प्रभावित भएको हो ।
६४ जिल्लामा वडाअधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा भने सहमति जुटेको छैन ।
पदाधिकारी बैठकमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।
यी जिल्लामा दशैंअघि नै वडा र पालिका अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरिसके पनि क्रियाशील सदस्यता भने अझै सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया