काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेस पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री नियुक्त गर्दा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो ।
बुधबार बसेको बैठक मूलतः आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा केन्द्रित रहेको थियो। दशैंअघि गाउँ÷नगर अधिवेशन मात्रै सक्ने गरि कार्यतालिका पुनः संशोधन गर्ने निर्णय भएको छ । वडा अधिवेशन सकिएका जिल्लामा पूर्वनिर्धारित समय अनुसार असोज ९ मा गाउँ÷नगर अधिवेशन गर्ने निर्णय गरिएको छ ।
वडा अधिवेशन हुन नसकेका १३ जिल्लाको क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी पुनः तीन सदस्यीय कार्यदललाई दिइएको छ । नेता कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले नामावली छिटो टुंगाउन सकेमा असोज ९ अघि बाँकी जिल्लामा वडा अधिवशेन गरिने भएको छ ।
त्यसअघि क्रियाशील सदस्यताको टुंगो लाग्न नसके निर्वाचन समितिले क्रमशः वडा अधिवेशनको मिति तय गरिने भएको छ । कार्यदलले नामावली प्रकाशन गरे अनुसार निर्वाचन समितिले मिति तोक्ने बताइएको छ ।
प्रतिक्रिया