काठमाडौँ: नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने टिप्पणी गरेका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताए ।
उनले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए ।विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए ।
उनले भने, ‘अहिले देखा परेको नकारात्मक धार को को नेता गए, कोको नेताहरु चोइटिएर गए त्यो छोडिदिनुस् । म एउटा कुरा भन्न चाहान्छु, त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार त्यो सकिनेछ समाप्त हुनेछ । त्यसको भविष्य छैन । त्यो अन्त्य हुनेछ भन्नेकुरा तपाईहरुलाई म भन्न चाहान्छु । किनभने हाम्रो एउटा चरित्र के भएको छ भने नेकपा(एमाले)ले बोकेको चरित्र भनेको एकताको पक्षपोषण गर्ने, विभाजन होइन, विखण्डन होइन, एकताको पक्षमा दृढतापूर्वक उभिने नेकपा(एमाले)को चरित्र हो । विभाजित भएर जानेहरू, चोइटिएर जानेहरु, ति रहने छैनन् । ति समाप्त हुनेछन् । हिजोदेखिका सबै कुराहरु हामी सम्झना गरौँ । विभाजन टिकेन । विभाजन थामिएन । विभाजनको भविष्य अन्धकार थियो । अहिले पनि अन्धकार छ ।
प्रतिक्रिया