काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई उनले आह्वान गरेका छन् ।
जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको बताए ।
२०७२ सालको भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब सम्पूर्ण ध्यान गुणस्तरीय शिक्षामै केन्द्रित हुने प्रतिबद्धता जनाए । ‘भौतिक पूर्वाधारको काम सकिएपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने नै छ ।
सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा प्राप्ति आजको आवश्यकता हो,’ उनले भने, ‘यस अभियानमा सबै पक्षलाई केन्द्रित हुन अनुरोध गर्न चाहन्छु ।’
प्रतिक्रिया