काठमाडौँ: ठगी गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । कटुवाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिई सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्रसाद अधिकारीसँग ६८ लाख ९० हजार रुपैयाँ लिएका कटुवालले जग्गा र बैना रकम नदिएपछि उनले प्रहरीमा उजुर गरेका थिए ।
फरक व्यक्तिलाई पास गरेर बैना फिर्ता नगरी सम्पर्कविहीन भएका कटुवाल केही समय अदालतबाट ‘पक्राउ नगर्नु’ भन्ने अन्तरिम आदेश लिएर बसेका थिए । उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । ठगीमा संलग्न भनिएका मोरङ केराबारी घर भएका धीरजकुमार दाहाल भने फरार छन् ।
प्रतिक्रिया