लेटेस्ट न्युज
advertisement1

१४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने काँग्रेसको निर्णय

Maryada News 2021-02-19 11:32:27
१४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने काँग्रेसको निर्णय

काठमाडौं-नेपाली काँग्रेसले पार्टीको आगामी १४ औँ महाधिवेशन विक्रम संवत् २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। 

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काद्धारा पेश भएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको हो।

त्यसैगरी काँग्रेसले गाउँ-नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ-नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय पनि गरेको छ।

बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि यही फागुन १५ गतेभित्र तोकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

साथै केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकिएको समेत उनले बताए।

बैठकले काँग्रेसको विधानबमोजिम क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा रमेश लेखक र सदस्यमा आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई मनोनयन गरेको छ।

बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजील्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरल्याण्ड, स्वीडेन, स्वीट्जरल्याण्ड, साउदी अरब, बेल्जियम, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराइन, ओमन, फ्रान्स र लग्जम्बर्गस्थित नेपाली जनसम्पर्क समितिको अवधि समाप्त भएको मितिले आगामी असारभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णयसमेत गरेको छ।

काँग्रेसको विधानअुनसार पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि चार वर्षको हो। तर विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने नेपालको संविधानमा व्यवस्था गरिएको छ। त्यसै व्यवस्थाअनुसार काँग्रेसले यसपटक यस्तो निर्णय गरेको हो। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्