काठमाडौं : मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाज सेवा पुरस्कार–२०७७’ उमादेवी वादीलाई प्रदान गरिने भएको छ। हाल सुदूरपश्चिम प्रदेशसभा सांसद रहेकी वादीले मानव अधिकार/सामाजिक न्यायका लागि गरेका उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
विसं २०७८ मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु एक लाख १० हजार राशि र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने समाजले आज विज्ञप्ति जारी गरी जनाएको छ ।
विसं २०१८ फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् ।
सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग दुईबुँदे सैद्धान्तिक सहमति भएको थियो। विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी उमादेवीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बिबिसीले सन् २०१८ को विश्वका १०० उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीमा १०औँ स्थानमा राखेको थियो ।
प्रतिक्रिया