काठमाडाैंः राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकाे आज उद्घाटन हुँदैछ। सोमबारबाटै परीक्षणको रुपमा बिजुली उत्पादनसमेत हुने भएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे आयोजनाकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ।
आयाेजनाकाे क्षमता ४५६ मेगावाट भए पनि हाल पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने भएकाे हाे। आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ।
माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन्। भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य आयाेजनाकाे रहेकाे छ।
झण्डै ८० अर्ब हाराहारीकाे लागतमा निर्माण भएकाे माथिल्लो तामाकोशी स्वदेशी लगानी र प्राविधिक संलग्न भएको सबैभन्दा ठूलो आयोजना पनि हो।
आयोजनाबाट उत्पादित बिजुली न्यू खिम्ती सबस्टेशन हुँदै ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ।
प्रतिक्रिया