लेटेस्ट न्युज
advertisement1

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

Maryada News 2021-06-22 10:41:14
उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काठमाडौंः उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ। उपत्यका प्रशासनले विभिन्न पसलहरू बार तोकेर सञ्चालन गर्ने अनुमति पनि दिएको छ।

काेराेना भाइरसकाे सङ्क्रमण क्रमशः ओरालाे लागेकाे कारण निषेधाज्ञा पनि खुकुलाे पार्दै लगिएकाे छ। उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीकाे आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो।

यस थप निषेधाज्ञाकाे अवधि असार १४ गते राति १२ बजेसम्म लागू हुनेछ। यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ।

यस्तै डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीबाहेक) सपिङ मल, खेलकूद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहारका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइने छ। सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोबाइल पार्ट्स पसल, इलेक्ट्रोनिक्स पसललाई पनि आइतबार, मङ्गलबार र बिहीबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न अनुमति दिइएको छ।

निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। ठूलो परिमाणको ढुवानी राति मात्र गर्न भनिएको छ। औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ।

खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीमात्र), स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ। अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि उपत्यकामा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।

सवारी मर्मतका पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ भने विवाह, व्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइने भएकाे छ। यसका लागि दुईवटा सवारी साधान प्रयोग गर्न सकिने छ।

एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मत, स्वास्थ्यसम्बन्धीका गाडी, दूरसञ्चार, इन्टरनेट मर्मत, कार्गाे, कुरियर तथा डाँक सेवा, फोहरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ। भीडभाड हुने सबै गतिविधि, फुटपाथ र खुला ठाउँमा हुने व्यापार, होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतबन्ध, नित्यकर्मबाहेकका धार्मिक कार्यक्रम सञ्चालन गर्न पाइने छैन।

भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न पाइने छैन। सार्वजनिक सवारी सञ्चालन र अत्यावश्यक सवारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य जिल्लाबाट पासविहीन सवारीका साधन काठमाडौं उपत्यकामा सञ्चालन र प्रवेशमा रोक लगाइएको छ।

प्रशासनले जारी गरेको आदेशमा शैक्षिक संस्था अनलाइनमार्फत सञ्चालन गर्न सकिने छ। वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ।

उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माणकार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ। पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्यरूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्ने छ ।

यस्तै बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्