काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सञ्चार मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल–इजरायलबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेको बताइएको छ ।
भेटमा मन्त्री थापाले राजदूत गोडेरमार्फत इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । नेपालको विविधि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मन्त्री थापाले आगामी दिनमा पनि सहयोग र सहकार्यले निरन्तरता पाउने आशा व्यक्त गरे ।
भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले नेपालको सूचना प्रविधिको क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको मन्त्री थापालाई जानकारी गराए । राजदूत गोडेरले नेपाल–इजरायल सम्बन्धले ६० वर्ष पूरा गरेको स्मरण गर्दै आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया