लेटेस्ट न्युज
advertisement1

कोरोना महामारीले लाखौँको घाटा व्यहाेर्न बाध्य भए तरकारी किसान

Maryada News 2021-06-21 12:04:07
कोरोना महामारीले लाखौँको घाटा व्यहाेर्न बाध्य भए तरकारी किसान

भक्तपुरः निषेधाज्ञाका कारण भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ। खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो।

किसानले तरकारी बिक्री गर्न नपाएपछि गाई भैंसीँलाई खुवाउनुपरेको र बाँकी तरकारीमाथि नै जोतेर धान रोपाइँ गर्नुपरेको छ। चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरीले पाँच रोपनी जग्गामा लगाएको काउली र बन्दा खेतमै कुहाउनुपरेको बताए। गत वर्ष पनि यही पीडा भोगेको र यस वर्ष पनि गाईलाई खुवाएर बाँकी भएको तरकारी खेतमै कुहाएर मल बनाउनुपरेको उनले बताए।

गाउँका किसानले निषेधाज्ञाका कारण भक्तपुर बजारसम्म बिक्रीका लागि तरकारी ल्याउन नसकेपछि पहिला तरकारी लिँदै आएका व्यापारीले समेत तरकारी बिक्री हुँदैन नल्याउनु भनेपछि खेतमै कुहाउनुपरेको हो। “पाँच रोपनी जग्गामा काउली र बन्दा लगाएका थियौँ, बजार बन्द भएकाले हामीले गाउँबाट तरकारी बजार लान सकेनौँ, पहिला तरकारी दिँदै आएको व्यापारीले पनि नल्याउनु भन्यो”, गिरीले भने, “कतिपय काउली, बन्दा र फर्सी गाईलाई खुवायौँ, बाँकी भएको खेतमै कुहाएर धान रौप्यौँ तरकारी बिक्री नहुँदा यस वर्ष तीन लाख नोक्सान भयो।”

तरकारीबाट गत वर्षको लकडाउनले रू दुई लाख नोक्सान भएको र यस वर्ष मल र ज्यालाको पैसा पनि उठाउन नसकेको उनले गुनासो गरे।

स्थानीय समिता गिरीको गुनासो पनि उस्तै छ। जग्गा भाडामा लिएर तीन रोपनीमा लगाएको तरकारी फलेपछि बिक्री गर्न नपाएको उनले बताइन्। निषेधाज्ञामा तरकारी बिक्री नहुँदा जग्गाको भाडा तिर्ने पैसा पनि नउठेको उनले गुनासाे गरिन्। स्थानीयवासीको घरघरमा काउली, बन्दा, फर्सी, बोडी फलाउने भएकाले गाउँमा पनि बिक्री नहुने र कतिपय सित्तैमा बाँडेको उनकाे गुनासो छ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजुराम कार्कीले पनि गत वर्षको लकडाउनमा रू तीन लाख नोक्सान भएको बताए। यो वर्ष भने उनकाे नाेक्सानी बढेर चार लाख पुग्याे। तरकारी बिक्री नहुँदा खेतमै कुहिएको गुनासो गर्दै उनले कोरोनाले गर्दा मारमा परेकाे बताए।

भक्तपुर नगरपालिका, सूर्यविनायकको सिपाडोल, नंखेल, चित्तपोल, चाँगुनारायणको ताथली, सुडाल, वागेश्वरीलगायतका क्षेत्रमा फलाइएको तरकारीले बजार नपाउँदा किसान मारमा परेका हुन्। नगरपालिकाले नोक्सानमा परेका किसानको पहिचान गरी बीउ र मलमा मात्रै राहतको व्यवस्था गर्न सके पनि किसानलाई सहज हुने उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्