काठमाडौं : नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले आज प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई हार्दिक बधाई ज्ञापन गरेको छ । सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले आज काउन्सिलमा एक समारोहबीच अध्यक्ष बस्नेतलाई कार्यकाल सफलताको कामनासहित बधाई दिएका हुन् । सो क्रममा त्रिपाठीले पत्रकारिताको संरक्षण र सम्वर्द्धनमा सँग–सँगै सहकार्य गरेर अघि बढ्ने विश्वास ब्यक्त गरे ।
यस क्रममा काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहितको सहभागिता थियो । यसैबीच आजै कोरोना लगायत कारणले समस्यामा परेका छापामाध्यमको विकासमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । छलफलमा अध्यक्ष बस्नेतले राज्यको तर्फबाट छापामाध्यमलाई बचाउनको लागि गर्न सक्ने काममा सक्दो पहल गर्ने विश्वास व्यक्त गरे ।
वरिष्ठ पत्रकार त्रिपाठीले छापामाध्यमको अस्तित्व टिकाउनका लागि विशेष पहल गर्नु पर्ने अवस्था आएको बताए । पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठले अनलाइनले छापामाध्यम विस्थापित हुने अवस्था नआओस भन्नको लागि यस्ता बहस र छलफल आवश्यक भएको बताए । निर्वतमान कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रविधिसँगै छापामाध्यममा पनि परिवर्तन हुनुपर्ने बताए । कार्यक्रममा काउन्सिलका सदस्यहरू दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालको सहभागिता थियो ।
प्रतिक्रिया