लेटेस्ट न्युज
advertisement1

बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन माैसम विभागकाे आग्रह

Maryada News 2021-06-13 09:55:21
बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन माैसम विभागकाे आग्रह

काठमाडाैंः जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै बाढी तथा पहिरोको जोखिम उच्च रहेकाे भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ।

मनसुनकाे सक्रियतासँगै ठूला तथा मझौला नदीहरूमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागले बताएकाे छ।

विभागले शनिबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। हावापानी प्रारूपहरूका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ।

त्यस्तै लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेका छन्। विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ।

विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सै घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ। साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्प्रेषण गर्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्