काठमाडौँ : राष्ट्रिय जनमोर्चाले रुपन्देहीको बुटवल उपमहानगरपालिका मोतिपुरमा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ । सो घटनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानआकर्षण भएको भन्दै अध्यक्ष चित्रवहादुर केसीले सुकुम्वासी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका हुन् ।
असोज २४ गते प्रहरी र जनताबीच मुठभेड हुँदा ४ जनाको मृत्यु भएको र दर्जनौँ सर्वसाधारण र प्रहरीहरु घाइते भएका थिए । जग्गाको विषयलाई लिएर भएको उक्त घटनामा सरकार र राज्यका निकायले संयमता र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाको ज्यान गएको जनमोर्चाको ठहर छ ।
सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने र घाइतेहरुको निःशुल्क उपचार गर्न जनमोर्चाले माग गरेको छ । नेपालमा भूमिसम्बन्धी समस्या गम्भीररुपमा रहेको भन्दै जनमोर्चाले यो समस्या देशको ठूलो राष्ट्रिय समस्या भएको जनाएको छ ।
जग्गा दलालहरुले ठूलो मात्रामा कृषियोग्य जमिन प्लटिङगरी अत्यन्त महङ्गोमा जनतालाई बिक्री गर्ने गरेका भन्दै उसले उचित नीति ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । गुठी जग्गाको पनि समस्या रहेको र भूमिहीन सुकुम्बासी जनताले बास बस्ने जग्गा समेत नपाइरहेको केसीको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया