काठमाडाैंः जारी विश्वकप फुटबल छनाैट खेलमा चाइनिज ताइपेईविरुद्ध नेपाल विजयी भएको छ। कुवेतको जाबेर अल अहमद रंगशालामा गए राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो।
नेपालले यसअघि नै विश्वकप छनाैटकाे तेस्राे चरणमा पुग्ने सम्भावना गुमाइसकेकाे छ। यद्यपि हिजाेकाे जीतले एसिया कप छनाैटकाे तेस्राे चरणमा पुग्ने सम्भावना कायमै गरेकाे छ।
नेपालले हिजाेकाे खेलमा चाइनिज ताइपेईविररुद्ध उत्कृष्ट प्रदर्शन गरेकाे थियाे। नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए। खेलको चौंथो मिनेटमा नै विष्टले पेनाल्टीमार्फत गोल गरेका थिए। सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियाे।
पहिलाे हाफपछिको खेलमा ताइपेईले आक्रामक खेल्यो। पटक पटक गोलको प्रयासहरू पनि श्रृजना गरेकाे थियाे। नेपालका लागि खेलको ८०औँ मिनेटमा मनिष डाँगी गोल गर्नबाट असफल भए पनि ८१औँ मिनेटमा भने नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे।
जितसँगै नेपालले ६ अंक जोडेको छ। नेपाल समूह बीको चौथो स्थानमा छ। ताइपेई हालसम्म अङ्कबिहीन छ। यसअघि पनि नेपालले ताइपेईलाई नै पराजित गर्दै तीन अङ्क जोडेको थियो। फिफा बरियतामा ताइपेई १४१औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ।
दुवै देशका खेलाडीले कुवेतको गर्मीलाई मुख्य चुनौतीका रूपमा लिएका थिए। बिहीबार राति खेल हुँदाका बखतको अधिकतम तापक्रम ३९ डिग्री सेन्टिग्रट थियो। समूह बी मा १२ अङ्कका साथ अस्ट्रेलिया शीर्ष स्थानमा छ। दोस्रो स्थानमा १० अङ्कसहित कुवेत छ भने १० अङ्ककै साथ जोर्डन तेस्रो स्थानमा छ।
नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने छ।
प्रतिक्रिया