महाेत्तरीः जिल्लामा गए रातिसम्म काेराेना सङ्क्रमणका कारण ५९ जनाको निधन भएको छ। स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा हालसम्म जिल्लामा ५९ जनाको निधन भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ।
कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार हालसम्म जिल्लामा कूल एक हजार आठ सय ९७ सङ्क्रमित भएका छन्। पैँतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन्। उनका अनुसार दुई सय ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।
यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी सङ्क्रमित फेला परेपछि सो वडालाई आज बिहानदेखि सिल गरिएको छ। प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद भट्टराईका अनुसार भङ्गहा–४ स्थित रामनगर बिर्तागाउँमा ५० भन्दा बढी सक्रिय सङ्क्रमित फेला परेपछि आजदेखि सो गाउँलाई पूर्णरूपमा सिल गरिएको हो।
सो गाउँमा आजदेखि बाहिरबाट कुनै पनि व्यक्तिको प्रवेश निषेध गरिएको छ। भित्रबाट बाहिर आउजाउसमेत पूर्ण प्रतिबन्ध लगाइएको प्रजिअ भट्टराईले बताए।
प्रतिक्रिया