लेटेस्ट न्युज
advertisement1

सीसीएमसीकाे संरचना परिवर्तन, प्रधानमन्त्रीकाे नेतृत्वमा निर्देशक समिति गठन

Maryada News 2021-05-22 10:01:07
सीसीएमसीकाे संरचना परिवर्तन, प्रधानमन्त्रीकाे नेतृत्वमा निर्देशक समिति गठन

काठमाडाैंः सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) काे संरचना परिवर्तन गरेकाे छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गठन गरिएकाे सीसीएमसीकाे संरचना परिवर्तन गर्दै सरकारले प्रधानमन्त्रीकाे नेतृत्व रहने 'कोभिड–१९ निर्देशक समिति' गठन गरेको छ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सीसीएमसी गठन गरिएकाे थियाे। सीसीएमसीकाे नयाँ संरचनाअनुसार यसकाे प्रमुखकाे रुपमा स्वास्थ्य सेवाका बाह्राैं तहका अधिकृत रहनेछन् भने उपप्रधानमन्त्री पोखरेल अब प्रधानमन्त्री मातहतको समितिकाे सदस्य मात्र रहनेछन्।

सरकारले काेभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश ल्याएसँगै मन्त्रिपरिषद्ले सीसीएमसीकाे संरचनामा परिवर्तन गरेकाे हाे। सरकारले बिहीबार ल्याएकाे साे अध्यादेश शुक्रबार नेपाल राजपत्रमा प्रकाशित भएकाे थियाे। अब उप्रान्त काेराेना भाइरस नियन्त्रण सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्रीकाे निर्देशनमा हुनेछ। 

सीसीएमसीले काम गर्न नसकेकाे भन्दै केही दिनयता सीसीएमसीकाे चर्काे आलाेचना हुँदै आएकाे थियाे। त्यस्तै स्वास्थ्य सामाग्री खरिदलगायतका विभिन्न काममा उपप्रधानमन्त्री पाेखरेल विवादमा आएका थिए।

प्रधानमन्त्री नेतृत्व रहने निर्देशक समितिमा उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र परराष्ट्रमन्त्री, मुख्यसचिव र प्रधानसेनापति सदस्यकाे रुपमा रहने छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको प्रमुख निर्देशक समितिको सदस्य सचिव रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्