लेटेस्ट न्युज
advertisement1

रातो मच्छिन्द्रनाथको रथ आज बुङ्गमती लगिने

Maryada News 2021-05-19 11:18:01
रातो मच्छिन्द्रनाथको रथ आज बुङ्गमती लगिने

काठमाडाैंः रातो मच्छिन्द्रनाथको रथ आज बुधबार बुङ्गमती लगिने भएको छ। मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा ६ महिना पाटन र दक्षिणायन लाग्दा ६ महिना बुङ्मती लगेर राख्ने चलन भएपनि बढ्दाे काेराेना सङ्क्रमणका कारण यसपटक छिट्टै बुङ्गमती लैजान लागिएको हो।

आज दिउँसो तीनदेखि ४ बजेभित्रमा मच्छिन्द्रनाथलाई बुङ्गमती ल्याउने तयारी गरिएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए। उनले भने, “करुणामयलाई बोक्न मात्रै आठ जना पुजारी चाहिने भएकाले सक्ने जति पुजारी भगवान् लिन पाटन आउँछाैं।”

बिहान ६ः५० देखि ७ः०४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा सो समयमा साङ्केतिकरूपमा ल्याउने काम गरिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए। उनले भने, “बुङ्गमतीका मानिस आएर लोेकेश्वरलाई लाने चलनानुसार लानु हुनेछ।”

गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले सदियौँदेखि चलेकाे परम्पराअनुसार टोलटोलमा लगी रथयात्रा गर्न नपाएपछि यसपटक क्षमापूजा गरिएकाे बताए। आज बिहान पनि क्षमापूजा गरेकाे उनले बताए। 

उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ। किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामरुकामाक्षबाट नेपाल ल्याएका थिए।

काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ। यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्