काभ्रेः कोरोना सङ्क्रमण दर उच्च भएपछि बनेपा नगरपालिका आज मङ्गलबार मध्यरातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिसहित महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो।
सम्पूर्ण नगर क्षेत्र हाललाई एक साताका लागि सिल गरिने नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए। उनका अनुसार आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो। “औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ”, वादेले भने।
नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत उल्लेख गरिएको छ। साथै सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइनेछ।
जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो। कारोना सङ्क्रमणको दोस्रो लहरमा हाल जिल्लामा रहेका कूल कोरोना सङ्क्रमितमध्ये बनेपामा ३५ दशमलव ४ प्रतिशत अर्थात् ६ सय ९७ जनामा सङ्क्रमण भएको छ।
नगरमा हालसम्म १० जनाको निधन भएको छ। पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोकमा दैनिक डेढ सयभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन्। जिल्लामा पछिल्लो २४ घण्टामा एक सय ७८, अघिल्लो दिन एक सय ९८ तथा शुक्रबार एक सय ५१ मा कोरोना सङ्क्रमण पुष्टि भएकाे थियो।
त्यस्तै दैनिक ३० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको निधन हने गरेको तथ्याङ्कले देखाएको छ। जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) का अनुसार हाल कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा एक हजार नाै सय ८९ सक्रिय सङ्क्रमित रहेका छन्।
सङ्क्रमितमध्ये धुलिखेलमा चार सय १४, पनौतीमा तीन सय ९९, पाँचखालमा एक सय २४, नमोबुद्धमा ८१, मण्डनदेउपुरमा एक सय १० तथा रोशी गाउँपालिकामा ३५, चौँरीदेउरालीमा २६, तेमालमा ३०, भुम्लुमा ३०, खानीखोलामा २२, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा १६ सक्रिय सङ्क्रमित रहेका छन्।
कूल सङ्क्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार आठ सय ९१ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन्। हालसम्म जिल्लाका ८५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया