एजेन्सी– अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसी चीनमा प्रतिबन्धित भएको छ । बीबीसी विश्व समाचार टेलिभिजन सेवालाई बिहीबार प्रतिबन्ध लगाइएको हो ।
चीनको टेलिभिजन तथा रेडियो प्रशारण नियमन गर्ने निकायले कोरोना महामारी र चीनका सिमान्तकृत मुसलमान विगर समुदायमाथि गरेको रिपोर्टिङमा झुटो सामाग्री सम्प्रेषण गरेको भन्दै बीबीसीलाई प्रतिबन्ध लगाएको हो ।
यस्तै गत महिना चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)लाई बेलायतको सञ्चार नियमनकारी संस्था ‘अफकम’ले गैरकानुनी ढंगले स्टार चाइना मिडिया लिमिटेडको लाइसेन्समा प्रशारण भइरहेको भन्दै प्रशारण र लाइसेन्स रद्द गरेको थियो । गत वर्ष ब्रिटीस ब्रोडकास्टिङ नियम विपरित सिजिटिएनले ब्रिटीस नागरिक पिटर हम्फ्रेको स्वीकारोक्ति पनि प्रशारण गरेको थियो ।
बीबीसीले चीनमा प्रतिबन्ध गरिएको बारे विज्ञप्ति जारी गर्दै भनेको छ– ‘चिनियाँ अधिकारीहरूद्वारा लिइएको यस्तो निर्णय लिएको प्रति हामी खेद प्रकट गर्छाैं । बीबीसी संसारकै सबैभन्दा विश्वसनिय अन्तराष्ट्रिय समाचार प्रशारक संस्था हो र यसले संसारभरका समाचार सन्तुलित रुपमा, डर नमानी पक्ष र विपक्ष नलागी प्रशारण गर्छ ।’
प्रतिक्रिया