काठमाडौ : प्रहरीले प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । बिहीबार शंखमुलस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बिहीबार विहान झाँक्रीलाई कार्यालयमा उपस्थित हुन आग्रह गरेपनि उनले आफू पक्राउ पुर्जीबिना आउन नसक्ने भन्दै अस्वीकार गरेकी थिइन् । राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी पनि दिएको छ ।
झाँक्री निवासमा माधव प्रचण्ड समूहका कार्यकर्ताले केहीबेर नाराबाजी गर्दै उनलाई पक्राउ गर्न अवरोध गरेका थिए । यसअघि नेतृ झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेका जनाएको छ ।
नेतृ झाँक्रीले उक्त कार्यक्रममा यसो भनेकी थिईन्, ‘म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’
अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिइएको बताएको छ ।
प्रतिक्रिया