काठमाडाैं : भारतको उत्तराखण्डको तपोवन इलाकामा आइतबार बिहान १० बजे हिमनदी टुक्रिएर ऋषिगंगा नदीमा बाढीमा परेर बेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ।
स्थानीय प्रशासनले हिजो बेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो। बेपत्ता हुनेमा नेपालका ३ जना छन्। स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीको पनि उद्धार गरिएको छ। बेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल छन्। उनीहरु तीनै जना सुदूरपश्चिम प्रदेश कैलालीका हुन्।
बेपत्ता हुनेहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका बासिन्दा छन्। उत्तर प्रदेशका ४६ जना बेपत्ता भएका छन्। १ सय १५ जनाको नामा सार्वजनिक गरिए पनि २ सयभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ। बेपत्ताहरुको खोजी कार्य तीव्र भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेको छ। जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार कार्य तीव्र रुपमा भइरहेको जनाइएको छ।
प्रतिक्रिया