काठमाडाैं : गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी भट्टको हत्या घटना अनुसन्धान निर्मला पन्तको जस्तो जटिल नभएको बताएका छन्।
मंगलबार बिहान नेपाल विद्यार्थी संघ नेविसंघको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हात पर्ने बताएका छन्। कतिपय घटना अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजाय दिलाउने विश्वास दिलाएका नेविसंघ महामन्त्री दीपक भट्टराईले जनाए।
सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्ण रुपले बैतडीमा केन्द्रित रहेको भन्दै गृहमन्त्री थापाले अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सहयोगको सरकारले अपेक्षा गरेको पनि बताएका अर्का महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।
नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु आज बिहान गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउन पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए। उनीहरुले गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया