काभ्रेः जिल्लामा कोराेना भाइरस सङ्क्रमितकाे संख्या सात सय नाघेको छ। विभिन्न पालिकामा गरी बुधबार एकै दिन एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएपछि अहिलेसम्मको सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ६८ पुगेको हाे।
५८ जना अस्पतालको आइसोलेशनमा र सात सय ४३ जना होम आइसोलेशनमा रहेका छन्। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या बनेपा नगरपालिकामा तीन सय एक पुगेको छ।
धुलिखेल नगरपालिकामा एक सय ५८, पनौती नगरपालिकामा एक सय ५०, पाँचखाल नगरपालिकामा ६०, नमोबुद्ध नगरपालिकामा २८ र मण्डनदेउपुर नगरपालिकामा १९ जना सङ्क्रमित रहेका छन्।
जिल्लामा सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै बिरामीको सेवाका लागि २४ सै घण्टा एम्बुलेन्स सेवासमेत व्यवस्था गरिएको नगरपालिकाहरूले जनाएका छन्।
प्रतिक्रिया