काठमाडाैंः अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। रोगका कारण कुखुरा अत्याधिक संख्यामा मरेकाले उत्पादन घटेपछि मूल्य बढेको हो।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आज मङ्गलबारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रू तीन सय ७० र मिडियमको रू तीन सय ४० पुगेको छ। यसअघिको मूल्यमा प्रतिक्रेट ३० रूपैयाँले वृद्धि गरिएको हो।
ओलीका अनुसार चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रू तीन सय ६५ पुगेको थियो। यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रू तीन सय ६० पुगेकामा केही दिनपछि घटेको थियो। यसअनुसार अण्डाकाे मूल्य हालसम्मकै उच्च भएकाे हाे।
एच-९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेकाे किसानहरूले बताएका छन्। ओलीका अनुसार यसअघि दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ। अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनकाे भनाइँ छ।
नेपालमा दुई हजार सात सय किसानले लेयर्स कुखुरा पाल्दै आएका छन्। यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन्। नेपालमा कुखुरापालन क्षेत्रमा रू एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरूको भनाइँ छ।
प्रतिक्रिया