पर्साः वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा निधन भएको छ। अस्पतालको आइसीयूमा उपचाररत दुई महिला र एक पुरुषको निधन भएको हो।
श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे निधन भएको हाे भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए।
४८ वर्षीया महिलामा निमोनियालगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गराइएको र उनको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो भने छपकैया निवासी महिलालाई वैशाख १४ गते अस्पताल भर्ना गरी पिसिआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियाे।
उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मधुमेहबाटसमेत ग्रसित रहेका जितपुर सिमरा निवासी पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि गत वैशाख १० गते अस्पतालमा भर्ना गरिएको र सोही दिन सङ्क्रमण पुष्टि भएको डा दासले जानकारी दिए।
याेसँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण निधन हुनेको सङ्ख्या ७३ पुगेको जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ।
प्रतिक्रिया