सुर्खेतः कर्णाली प्रदेशमा सोमबार काेराेनाबाट थप पाँच सङ्क्रमतिको निधन भएको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिलाकाे निधन भएकाे स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए।
सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा निधन भएको निमित्त निर्देशक डा खड्काले बताए। उनका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको निधन भएको छ। आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
सोमबार पाँच र आइतबार तीन जनाको निधन भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा पाँच सय ८१ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ४७ (६० प्रतिशत) र चार सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ८० (४० प्रतिशत) मा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए।
त्यस्तै कर्णालीमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार एक सय २८ सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६ सय २२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन्। हाल सक्रिय दुई हजार एक सय ९४ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया