चितवनः जिल्लाकाे बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको छ। सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको हाे।
सेवा सुचारू भएसँगै टिकट लिन लामो समय कुर्नुपर्ने झन्झटबाट सेवाग्राहीलाई छुटकारा मिलेकाे छ। अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ।
रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमबीच अनलाइनबाट टिकट लिन सक्ने प्रणालीको उद्घाटन गरेका हुन्। उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउने क्रममा बिरामीको चापलाई मध्यनजर गरी अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरिएको बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालको वेभसाइटमा गएर नाम, ठेगाना, उमेर, लिङ्ग, सम्पर्क नं लगायतको जानकारी भरेपछि टिकट जारी हुने जानकारी दिए। उनले बिमामार्फत काटिएको टिकटको भने प्रमाणित अस्पतालमा आएर गर्नुपर्ने बताए।
प्रतिक्रिया