बैतडीः भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ। भारतका विभिन्न स्थानबाट झुलाघाट नाका हुँदै फर्केका ३९ नागरिकको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो।
पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन्। सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ।
सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो।
यस्तै भारत हुँदै नेपाल फर्किनेहरूमा काेराेना संक्रमण अत्याधिक पाइन थालेपछि बैतडी सदरमुकाम दशरथचन्द नगरपालिकामा आइसोलेसन सेन्टर बनाइने भएकाे छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले वीरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
भारतसँग सीमा जाेडिएको झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले उनीहरूको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको हो। यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिकमध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ।
प्रतिक्रिया