- भूपेन्द्रा मल्ल 'मन'
तिम्राे सपनाकाे फूलबारीमा
तिम्राे विश्वासकाे बगैँचामा
न त वाचाका गुलाफहरू फुल्न सके
न त कबुलका गाेदावरी फुले,
न त आस्थाका सुनाखरी फुल्न सके
न त इमानका सयपत्री नै फुले
पृथ्वी घुम्न छाेडेकाे छैन
ऋतु बदलिन भुलेकाे छैन
तर पनि पालुवा लाग्ने छाँटकाँट छैन
काेपिला आउने सुरसार छैन
वसन्त कतै घेराबन्दीमा छ कि?
सायद मालीहरूकै नाकाबन्दीमा छ कि?
बेहदकाे पर्खाइ बन्द गर अब
जाऊ साेध किंकर्तव्यविमुख मालीहरूलाई
अनि मालीहरूका जाली नाइकेहरूलाई
हाम्राेमा फूलहरू किन फुल्दैनन्?
हाम्राेमा वसन्तहरू किन आउँदैनन्?
अब पनि भराेसा गर्ने कति दिन?
अझै पनि आशा राख्ने कतिन्जेल?
निलम्बन गरिदेऊ मालीहरूलाई
पदच्युत गरिदेऊ निकम्मा जालीहरूलाई
बरू यस्ताे माली चयन गर
जसले तिम्राे फूलबारीमा
साँच्चै बहार ल्याउन सकाेस्
थुप्रै फूलहरू फुलाउन सकाेस्
फुलाओस् भेलेन्टाइनका प्रेमिल गुलाफहरू
लाखाैं जाेडीहरू रमाउन सकुन्
निरन्तर फुलाइरहाेस् फूलहरू
श्रद्धास्वरुप चढाउन पुगाेस्
हात हातमा थमाउन पुगाेस्
शुभभावका अनगिन्ती बुकीहरू
बाँड्न पुगाेस्, साट्न पुगाेस्
आपसी समभावहरू, सद्भावहरू
अनि शान्तिकाे अनुभूति हाेस्
आन्नदकाे आभास हाेस्।
(भूपेन्द्रा मल्ल 'मन'काे "दलिल" कविता सङ्ग्रहबाट)
प्रतिक्रिया