बागलुङः सुर्तीजन्य पदार्थको सेवन गर्नेमा २० वर्षमुनिका युवाकाे संख्या बढ्दै गएपछि बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सुर्तिजन्य पदार्थकाे किनबेच तथा सेवनमा कडाइकासाथ नियमन गरिने बताएका छन्। स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्रभाव र यसको नियमनसम्बन्धी ऐन, नियम र मापदण्डका सम्बन्धमा आयोजित पैरवी कार्यक्रममा प्रजिअ कार्कीले सार्वजनिकस्थलमा चुरोट र सुर्तीजन्य वस्तु सेवन गर्नेलाई कारवाही गरिनेसमते बताए।
उनले भने, “अब हामी कडाइका साथ अनुगमन गर्छौं, कारवाही गर्ने अधिकारीका रूपमा प्रजिअलाई तोकेको छ, अब जता पायो त्यतै जहाँ पायो त्यहीँं धुमपान गर्दा कारवाही भोग्नुपर्छ।”
सरकारले २०६८ सालमै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन ल्याए पनि प्रभावकारी कार्यान्वयन नभएकाे, विद्यालय र कलेज पढ्ने बालबालिकामा चुरोट सेवन गर्ने प्रवृत्ति बढ्दाे रहेकाे र क्रमशः युवा दुर्व्यसनमा फस्दा घरपरिवार तथा राष्ट्रकै लगानी खेर जाने, दक्ष जनशक्ति उत्पादनमा ह्रास आउनेजस्ता काम भइरहेको पनि उनले बताए।
स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको उनले बताएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले एक तिहाइ नेपालीले अहिले पनि धुम्रपान गर्ने गरेको जानकारी दिए। उनले १७ वर्षमुनिबाटै धुम्रपान सिक्ने गरेको अध्ययनले देखाएको भन्दै विद्यालय तहलाई समयमै सम्बोधन गर्न ढिलाइ गर्न नहुने पनि बताए।
हाल १७ वर्षमुनिका झण्डै १९ प्रतिशत किशोरकिशोरी कुलतमा फसेकाे उनले बताए। विश्वमा अहिले पनि एक अर्ब मानिस सुर्तीजन्य वस्तुको सेवनबाट सर्ने जटिल रोग बोकेर बसेकोसमेत गुरौले जानकारी दिए।
प्रतिक्रिया