सिरहाः गत चैत १ मा जिल्लाकाे लहानस्थित मालपाेत कार्यालयमा बम विस्फाेट गराउने दुई आराेपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका-५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका-३ का २६ वर्षीय अभिमन्यू गिरी रहेकाे प्रहरी जानकारी दिएकाे छ।
उनीहरूलाई सोमबार सुखिपुर नगरपालिका-५ बाट पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए। यस्तै उनीहरूले घटना गराएकोसमेत स्वीकार गरिसकेका छन्।
तराई मुक्ति मोर्चा(गोइत समूह)का अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा साे विस्फाेट गराएकाे उनीहरूले बयानमा बताएका छन्। लहानकाे मालपोत कार्यालयले भू-माफियालाई सहयोग गरिरहेको र पटक-पटककाे चेतावनीपछि पनि नसुध्रिएपछि विस्फोट गराउनुपरेको पनि उनीहरूले बयानमा बताएका छन्।
चैत १ गते करिब १२:४५ मा मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट हुँदा आठ जना घाइते भएका थिए।
पक्राउ परेकामध्ये गिरीको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद भएकाे छ। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
प्रतिक्रिया