लेटेस्ट न्युज
advertisement1

बर्दियामा बाघ गाउँ पस्न थाल्याे, याे वर्षमात्र आठकाे ज्यान गयाे

Maryada News 2021-03-13 10:07:59
बर्दियामा बाघ गाउँ पस्न थाल्याे, याे वर्षमात्र आठकाे ज्यान गयाे

बर्दियाः जिल्लाकाे बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। बाघ गाउँमा पस्न थालेपछि दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो।

स्थानीय साँझ नपर्दै घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीयको भनाइ छ। “दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ”, गेरुवा–४ तीनघरुवाकी नम्रता खनालले भनिन्, “गोठमै आएर बाख्रा खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो।”

बिहीबार मात्र तीन घरुवामा एकजनाको गोठमा बाख्रा खाएकाे र भैँसीको कान चिथोरेको खनालले बताइन्। “बाघ गहुँ खेतीमा लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ”, उनले भनिन्, “साँझ ६÷७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, साँझ आफन्तकहाँ गएर ढोका खोलाउन गाह्रो हुन्छ।”

स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दै आएका थिए। स्थानीयको प्रयास असफल भएपछि उनीहरु निकुञ्ज र सरकारप्रति आक्रोशित भएका छन्। बाघको आतङ्क बढेपछि स्थानीय महिलाको समूहले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्।

ज्यानको सुरक्षा गर भन्दै स्थानीय महिला गाउँपालिकाको कार्यालयमा घेराउ गर्न गएको स्थानीय भरतबहादुर स्वाँरले बताए। “बाली हेर्न र लगाएको आलु लिन गाउँ गएको थिए, डरले दुई रात पनि गाउँ बस्न सकिएन”, स्वाँरले भने, “६÷७ बजे घरभित्र पसिहाल्नुपर्दाे रहेछ। रातभर बत्ती बालेर त्रासमा रात काँटे।”

कति घरपालुवा जनावर बाघले खायो यकिन नभए पनि एक महिनामा धेरै नोक्सान गरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह कडातले बताए। गाउँपालिकाले १८ देखि २० किलोमिटर तारबार गर्न लागेकोसमेत अध्यक्ष कडायतले जानकारी दिए। “गाउँपालिकाले यसअघि गरेको दुई किलोमिटर तारबार प्रभावकारी भएकाले निकुञ्ज र गाउँपालिका मिलेर थप तारबार लगाउने योजना बनाएका छौँ”, अध्यक्ष कडायत भन्छन्, “वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष गाउँपालिकाले रू डेढ करोड बजेट खर्च गर्न लागेको छ।”

निकुञ्जसँग जोडिएको सीमा करिब ३५ किलोमिटर भए पनि यसपटक १८ देखि २० किलोमिटरमा काम हुने भएको छ। यति क्षेत्रमा तारबार भएपछि धेरै राहत हुने स्थानीयको भनाइ छ। वन्यजन्तुले घरपालुवा जनावर मारे गाउँपालिकाले राहत रकम दिने गरेको छ भने निकुञ्जले पनि केही रकम दिँदै आएको छ।

गाउँपालिकाले भैँसीका लागि रू १० हजार, गाई गोरु र बाख्राका लागि रू पाँच हजार राहत दिने गरेको छ। बाघको आक्रमणबाट बर्दियामा चालु आर्थिक वर्षको अहिलेसम्म आठको मृत्यु भइसकेको तथ्याङ्क प्रहरीसँग छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले पछिल्लो पटक मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बुधबार बाघले आक्रमण गरी ज्यान लिएपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको उनले बताए।

त्यस्तै, हात्तीको आक्रमणबाट एक दर्जनले ज्यान गुमाएको स्थानीयको भनाइ छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्