लेटेस्ट न्युज
advertisement1

थानकोट डिपोकाे पहिलो चरणको स्तरोन्नति सकियो 

Maryada News 2021-03-06 18:01:55
थानकोट डिपोकाे पहिलो चरणको स्तरोन्नति सकियो 

काठमाडौँ : प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरिएको हो ।     
     
कार्यालय स्तरोन्नतिअन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्याङ्क तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका काम सम्पन्न गरेर डिपो री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरिएको हो । करीब एक वर्षको अवधिमा परियोजनाको पहिलो चरण सम्पन्न भएको र डिपोमा व्यापक सुधार आएको जिकिर निगम व्यवस्थापनले गरेको छ ।     
     
इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याङ्करमा तेल भर्ने प्वाइन्टको सङ्ख्या दोब्बर बनाइएको छ । यसका कारण तेल भर्न ट्याङ्कर लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । डिपो आसपास क्षेत्रमा रहेको अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ । डिपोसँगै रहेको ३९ रोपनी जग्गामा ट्रक तथा ट्याङ्करको पार्किङ बनाइएको छ । जहाँ २०० भन्दा बढी ट्रक तथा ट्याङ्कर पार्किङ गर्न सकिने छ । डिपोको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइएको छ । त्यसअघि तारजालीले डिपोलाई घेरिएको थियो । डिपो घेर्ने पर्खालको भित्र÷बाहिर पेटी निर्माण गरिएको छ । राजमार्गबाट डिपोसम्म पुग्ने सडक ढलान गरिएको छ ।     
     
री–इन्जिनीयरिङ परियोजनाको दोस्रो चरण छिट्टै शुरु हुने र त्यसले पनि चाँडै मूर्तरुप पाउने निगमले जनाएको छ । निगमको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत वाग्मती प्रादेशिका कार्यालयलाई आधुनिकीकरण गरी डिपोलाई स्तरोन्नति गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षाका उपाय एवं प्रविधि अपनाइ री–इन्जिनीयरिङ परियोजना सम्पन्न गरिएको कार्यालय प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए । परियोजनाको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरे।     
     
पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री वितरणको कार्य गर्ने उद्देश्यका साथ सरकारले २०२७ सालमा निगमको स्थापना गरेको थियो । २०५८ सालमा थानकोट डिपो स्थापना भएको थियो । सो डिपोबाट राजधानी र आसपासका १० जिल्लाका १८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन आपूर्ति हुँदै आएको छ ।     
     
करीब १०६ रोपनी क्षेत्रफलमा फैलिएको सो डिपोमा डिजल आठ हजार ४०० किलोलिटर, पेट्रोल छ हजार ७० किलोलिटर, मट्टितेल ७६० किलोलिटर भण्डारण क्षमताका ट्याङ्कहरू रहेका छन् । उक्त डिपोबाट दैनिक करीब ७०० किलोलिटर पेट्रोल, ९०० किलोलिटर डिजल र आठ किलोलिटर मट्टिटेल बिक्री वितरण हुँदै आएको प्रमुख यादवले जानकारी दिए  ।     
     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्