काठमाडौं : राजनीतिकरुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजधिराजसँग तुलना गरेका छन्।
पार्टी निकट शिक्षकहरुको भेलालाई आज ललितपुरमा सम्बोधन गर्दै उनले ओलीमा आलोचना सुन्नै नसक्ने र सहनै नसक्ने प्रवृत्ती रहेको भन्दै महाराजधिराजसँग तुलना गरेका हुन्। प्रचण्डले भने, ‘बैठक बस्न पटक्कै मन नपराउने, आफूले भनेपछि ब्रह्म व्याख्याजस्तो अरुले मानिदिनु पर्ने नमान्ने मान्छे अगाडी देख्ने नहुने, यो पहिलेका महाराजधिराजहरुकै प्रवृत्ती हो नि त यो।’
अहिले फेरि केपीसँग एकता हुनसक्छ कि सक्दैन भन्ने प्रश्न उठेको भन्दै उनले भने ‘सहमति को सँग हुन्छ को सँग हुँदैन, व्यक्तिगत ढङ्गले को मन पर्छ, को मन पर्दैन भन्ने होइन, उनले थपे, यो विचार र पद्धतिको कुरा हो, विचार मिले एकता हुन्छ, नमिले हुदैन।’
हिजो विचारमा सहमत हुँदा पार्टी एकता भएको प्रसङ्ग उठाउँदै उनले फेरि पनि विचार मिल्दा एक हुनसक्ने संकेत गरेका हुन्।
ओलीले आफू नेतृत्वमा पुग्न जस्तोसुकै सम्झौता पनि गर्ने र कार्यान्वयन नगरेको प्रचण्डको आरोप थियो।
प्रतिक्रिया