लेटेस्ट न्युज
advertisement1

द्वन्द्व पीडितलाई न्यायका लागि ढिलाइ नगर्ने शीर्ष नेताको प्रतिबद्धता

Maryada News 2025-03-27 12:33:48
द्वन्द्व पीडितलाई न्यायका लागि ढिलाइ नगर्ने शीर्ष नेताको प्रतिबद्धता

काठमाण्डू, तीन शीर्ष नेताले द्वन्द्व पीडितलाई न्यायका लागि ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजधानीमा सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आयोगलाई छिट्टै पूर्णता दिँदै पीडितलाई यथासिघ्र न्याय प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्क्रमणकालीन आयोगलाई पूर्णताका लागि सिफारिस समिति गठन भएको भन्दै त्यसले स्वायत्त, निष्पक्ष र सक्षम व्यक्ति सिफारिस गर्ने उल्लेख गरे ।

“शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन कसैको पनि मतभेद छैन् ।

सबैको सहमतिमा सिफारिस समिति गठन भएको छ,” देउवाले भने, “सरोकारवाला सबै पक्षको मनोभावना समेट्ने गरी आयोगलाई निष्पक्ष र स्वायत्त बनाउने गरी सिफारिस समितिले काम गर्नेछ।

पीडितका अधिकार प्राथामिकतामा राखेर पारदर्शी ढङ्गले अब गठन हुने आयोगले काम गर्नेछ ।”

नेपालले शान्ति प्रक्रियालाई मौलिक तरिकाले टुङ्गोमा पुर्‍याउने दाबी गर्दै उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि मानक बन्ने दाबी गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले यसपटक बेपत्ता व्यक्ति छानबिन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई सरकारले सफल बनाउने बताए ।

“पहिले पनि दुईपटक बनाएका सिफारिस समितिले काम गर्न सकेन । अलमल भयो ढिलाइ भयो । अब ढिलाइ हुँदैन,” उनले भने ।

पीडितलाई न्याय दिलाउँदै शान्ति प्रक्रियालाई टुङ्गो पुर्‍याउने काम आफ्नो प्राथामिकतामा परेको उनले बताए ।

“म यसपटक पीडितलाई न्याय दिलाउँदै शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन चाहन्छु । विगतमा ढिलाइ भए अब यस्तो हुँदैन ।

म यसलाई टुङ्गोमा पुर्‍याउन चाहन्छु, यसको श्रेय अरूले लिए हुन्छ, तर यसपटक जसरी पनि टुङ्ग्याउने पक्षमा छु,” उनले भने ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा कुनै विमति नरहेको बताए ।

पीडितहरूलाई न्याय दिलाउनका निम्ति सबै दल तयार रहेको उनको भनाइ छ ।

सिफारिस समितिले छिट्टै संक्रमणकालीन न्याय सम्बन्धि आयोगलाई पूर्णता दिने र आयोगले निष्पक्ष कार्यसम्पादन गर्ने उनले बताए ।

“शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयमा सैद्धान्तिक विमति कसैको पनि छैन । अब आयोगहरूलाई पूर्णता दिलाएर धमाधम काम हुनेछ ।

विगतमा आयोग गठन भएपनि ऐनको अभावमा काम पुरा हुनसकेन । यसपटक ऐन पनि आइसकेको छ ।

हामी मौलिक तरिकाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउछौँ,” दाहालको भनाइ छ ।

नेपालको शान्ति प्रक्रियामा सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायलाई तीन शीर्ष नेताले धन्यवाद दिएका छन् ।

पीडितहरूको चासो र चिन्तालाई सम्बोधन गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता उनीहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्