काठमाडौँ : नाछिरिङ भाषाको कक्षा तीन (तुल–सुक) को पाठ्यपुस्तक विमोचन गरिएको छ । किरात रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँले प्रकाशन गरेको पाठ्यपुस्तक शनिवार एक कार्यक्रमबीच विमोचन गरिएको हो ।
साखाम केन्द्रले कक्षा एक (रुखुम) र कक्षा दुई (तुल–निस) को पाठ्यपुस्तक यसअघि नै प्रकाशन गरी नाछिरिङ समुदायको बसोबास रहेको सोलुखुम्बु र खोटाङ जील्लामा अध्यापन गराइसकेको छ । कक्षा तीन (तुल–सुक)को पाठ्यपुस्तक पनि चाँडै वितरण गरी अध्यापन गराइने साखाम केन्द्रले जनाएको छ ।
संविधानको धारा ३१ को उपधारा ५ ले गरेको मातृभाषा लिन पाउने अधिकारलाई आत्मसाथ गर्दै भाषिक पाठ्यपुस्तक प्रकाशन तथा अध्यापन गरेको साखाम केन्द्रले जनाएको छ । नाछिरिङहरु सोलुखुम्बु, खोटाङ, पाँचथर, तेह्रथुम, भोजपुर, मोरङ, झापा, इलामलगायतका जिल्लाहरूमा बसोबास गर्दै आएका छन् ।
यसैबीच, साखाम केन्द्रले चाँडै रिदुम खिम (मुन्धुम घर) बन्ने दाबी गरेको छ । त्यसका लागि साखाम केन्द्रले तीव्र रूपमा अभियान अगाडि बढाएको छ ।
काठमाडौंको गोकर्णेश्वर उत्तरगयामा निर्माण हुन लागेको रिदुम खिमका लागि आवश्यक खर्च जुटाउँदै गरेको साखाम केन्द्रले जनाएको छ । रिदुम खिम निर्माणका लागि २१ लाख पुँजी जम्मा भइसकेको छ ।
‘यो रकम खातामा जम्मा भइसकेको रकम हो,’ साखाम केन्द्रका सक्रिय सदस्य तेज किराती (नाछिरिङ) ले भने, ‘यसबाहेक अभियान पनि चलिरहेको छ । खिमको डीपीआरसमेत तयार भइसकेको छ । अब चाँडै काम शुरू हुन्छ र चाँडै सम्पन्न गर्नेछौँ ।’
साखाम केन्द्रले रिदुम खिम निर्माणका लागि विदेशमा समेत अभियान सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया