काठमाडौं : भरतपुर महानगरपालिका–४, चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरोधमा माइतीघर मण्डलामा तीन दिनदेखि विरोध प्रदर्शन भइरहेको छ । जातीय विभेदका कारण हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा संयुक्त राजनीतिक दलित संघर्ष समितिले तीन दिनदेखि प्रदर्शन गरिरहेको हो ।
घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ । आन्दोलनको बारेमा जानकारी दिँदै अभियन्ता दलमर्दन कामीले न्यायको सुनिश्चितता नभएपछि आन्दोलन गर्नुपरेको बताए ।
उनले चितवन प्रहरीसँग घटनाबारे जानकारी लिन भिडियो फुटेज माग्दासमेत नपाएको गुनासो पोखे । “प्रहरीले जातीय विभेद होइन भन्छ । अनुसन्धानमाथि कसरी विश्वास गर्ने ?” उनले भने ।
पूजा गर्न जाँदा दलित भएकै कारण विश्वकर्माको मारिएको पीडित परिवारको भनाइ छ ।
गत असोज २८ नवमीका दिन मन्दिरमा दुर्गा पूजा गर्न जाँदा स्थानीय सिताराम बस्नेत र दीलिप श्रेष्ठसँग विवाद हुँदा कुटपिट भएपछि उनी गम्भीर घाइते भएका थिए । घाइते विश्वकर्मालाई आरोपित बस्नेत र दीलिपले अस्पताल लैजाँदै गर्दा उनको मृत्युभइसकेको थियो ।
आरोपितलाई चितवन प्रहरीले सोही दिन गिरफ्तार गरी अनुसन्धानका लागि थुनामा राखेको छ । “आरोपित थुनामै छन् । अनुसन्धान भइरहेको छ,” डीएसपी नरहरि अधिकारीले भने ।
यस्तै, पीडितले जाहेरीमा ज्यानसम्बन्धी कसुर उल्लेख गरेको डीएसपी अधिकारीले जानकारी दिए ।
“पहिले जाहेरीमा त्यो कुरा छैन । अहिले जातीय विभेदको कुरा आएको छ । त्यो बारेमा पनि हामी अनुसन्धान गर्दैछौँ,” उनले भने ।
मृतकको पोस्टमाटर्म रिपोर्ट आइसकेको छ । तर, प्रहरीले रिपोर्टबारे केही जानकारी दिएको छैन । यता पीडित परिवारले अझै शव बुझेका छैनन् ।
शव भरतपुर चितवन अनस्पतालमा राखिएको छ । आइतबारै चितवनमा पनि त्यहाँ गठन गरिएको संघर्ष समितिले न्यायको निम्ति भन्दै मोटरसाइकल ¥याली निकालेको छ ।
प्रतिक्रिया