काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने बताएका छन् । आफ्नो पार्टी (एमसीसी) सम्झौता पारित गर्न नहुनेमा दृढ रहेको समेत अध्यक्ष केसीले बताए ।
एमसीसी पारित गराउन अमेरिकाले लगातार दबाब दिइरहेको र शेरबहादुर देउवा नेतृत्वको सरकारले यसलाई पारित गराउन विभिन्न षड्यन्त्र गरिरहेको पनि जनमोर्चाले दाबी गरेको छ । एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्ष निरन्तर गरिरहने जनमोर्चाले बताएको छ ।
यस्तै, राष्ट्रिय जनमोर्चाले पुनर्स्थापित संसदलाई फेरि भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण केन्द्रित गरेको आरोप लगाएका छन् । निर्वाचन आयोग, सरकार र सभामुखमाथि एमालेले आक्रमण गर्न थालेको जनमोर्चाको आरोप छ ।
मुलुकलाई प्रतिगमनमा धकेल्नका लागि पाँचदलीय गठबन्धनलाई टुक्र्याउन विभिन्न षड्यन्त्र भइरहेको समेत जनमोर्चाले ठहर गरेको छ । जनमोर्चाका अध्यक्ष केसीले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ ।
त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यकता कायमै रहेको छ । त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता छ ।’वर्तमान सरकारबाट देश र जनताका सबै समस्या समाधान हुने विश्वास नभए पनि प्रतिगमनका विरुद्ध समर्थन गरेको जनमोर्चाले स्पष्ट पारेको छ ।
प्रतिक्रिया