काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।
नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव थिए । समितिको उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन् ।
नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचन पार्टीको उपस्थितिलाई बलियो बनाउने जानकारी दिए ।
यस्तै ताप्लेजुङ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा छिरिङ लामा चयन भएका छन् । शनिबार सदरमुकाम फुङलिङमा भएको अगुवा कार्यकर्ता भेलाले ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ ।
कमिटीका उपाध्यक्षमा दुर्गाहाङ चोङ्वाङ (लिम्बू) र मञ्जु भट्टराई चयन भएका छन् भने सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे रहेका छन् । एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो ।
सिमकोटमा नेकपा (एकीकृत समाजवादी)ले नेता शिवराज शर्माका अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उनी तत्कालीन एमालेका जिल्ला सचिव थिए ।
शनिबार सार्वजनिक गरिएको जिल्ला कमिटी उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया