काठमाडौं:अमेरिकामा क्यान्सरसँग लडिरहेका नेपाली विद्यार्थी विराट गौतमको उपचारका लागि नेपाल इन्जिनियर्स एसोसिएसनले अभियान शुरु गरेको छ । एसोसिएसनले गौतमको उपचारका लागि रु १ लाख सहयोग गर्दै सम्पूर्ण इन्जिनियर्स तथा मनकारी र दाताहरुलाई सहयोग गर्न आग्रह गरेको छ ।
एसोसिएसनले विराटकुमार गौतमको नाममा रहेको हिमालय बैक लिमीटेड महाराजगंज शाखाको खाता नम्बर ००२०६८३७००१३ र विराटकुमार गौतमकै नाममा रहेको सिद्धार्थ बैंक लिमिटेड डढेल्धुरा शाखा खाता नम्बर ०३११५५२६४१ सहयोग रकम उपलब्ध गराउन सकिने जनाएको छ।
नेपाल प्रहरीका पूर्व एसएसपी गोविन्दराम परियारका छोरा इन्जिनियर विशाल गौतम अध्ययनको सिलसिलामा अमेरिकामा रहेका बेला जटिल क्यान्सर रोग देखा परेपछि उनको अमेरिकाको मियो क्लिनिक अस्पताल, रोचेस्टर मिनेसोटामा विगत ढेड महिनादेखि उपचार जारी छ ।
अध्ययनका क्रममा अमेरिका पुगेका इन्जिनियर गौतमलाई माईलोफाइब्रोसिरका कारण तत्काल बोन म्यारो प्रत्यारोपण गर्न अस्पतालका चिकित्सकले सल्लाह दिएका छन्। क्यान्सरको उपचार गराईरहेका गौतमको तौल दिन प्रतिदिन घट्दै गईरहेको छ।
गौतमको परिवारको आर्थिक अवस्था कमजोर भएपछि अस्पतालको बेडमा औषधीको बिलहरु थुपारिएका छन्। गौतमको बोन म्यारो प्रत्यारोपणका लागि ७ लाख ५० हजार अमेरिकी डलर खर्च लाग्ने अस्पतालले जनाएको छ।
यसैगरी पूर्व वरिष्ठ प्रहरी अधिकारी परियारले सामाजिक संजाल मार्फत सहयोगको आग्रह गरेका छन् ।इमानदार प्रहरी अधिकारीको छबी भएका परियारले अत्यन्त जटिल विरामीको विशेष उपचार अत्यन्त महंगो भएकाले सहयोगी मनहरुलाई जीवन रक्षाका लागि सहयोग गर्न अपिल गरेका छन् ।
अधिवक्ता समेत रहेका परियारले अमेरिकास्थित नेपाली कुटनीतिक नियोग, संघ, संस्था र दानवीरहरुलाई सहयोगका लागि विशेष आग्रह गरेका छन्।
प्रतिक्रिया