गलकोट : बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो ।
बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यति धेरै जनामा सङ्क्रमण देखिनु स्थानीयवासीको हेलचक्र्याइँ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिए ।
गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ । गाउँभर सङ्क्रमण फैलिएपछि रोकथामका लागि आफूहरु लागि रहेको उनको भनाइ छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविकरूपमा सङ्क्रमणको दर बढेको कँडेल बताउँछन् । जलजला गाउँसँगै अन्य गाउँमा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै उनले सबैतिर परीक्षण शुरु गरेको बताए । संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ ।
प्रतिक्रिया