काठमाडौंः नेकपा एमालेकाे स्थायी कमिटी तथा संसदीय दलको बैठक बस्दैछ। स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने भएकाे छ।
एमाले स्थायी कमिटीकाे बैठकमा माधव नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको छ। यद्यपि नेपाल पक्षका नेताहरूले सल्लाह नै नगरी एकपक्षीय रुपले बैठक बोलाएको आरोप लगाउँदै बैठकमा सहभागी नहुने सम्भावना रहेकाे बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव ईश्वर पोख्रेल, उपमहासचिव विष्णु पौडेल र नेता नेम्वाङसँगको छलफलपछि बैठक तय गरेका थिए।
विवाद समाधान गर्न तय गरिएकाे १० बुँदे सहमति अनुमोदनका लागि आज स्थायी कमिटीकाे बैठक बस्न लागेकाे हाे। यता संसदीय दलको बैठक नगर्न माधव नेपाल पक्षका नेताहरूले आग्रह गरे पनि ओलीले आजैका लागि दुवै बैठक बोलाएका हुन्।
एमालेको आन्तरिक विवादलाई समाधान गर्न दुवै पक्षका नेताहरू सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको थियो।
प्रतिक्रिया